काठमाडौं, असोज ४ । सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो ।
नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् । कतिसम्म भने काठमाडौंबाट २० किलोमिटर दूरीमा रहेको काभ्रे जाँदा पनि सैनिक हेलिकप्टर प्रयोग गरिएको छ ।
सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीले हेलिकप्टर प्रयोग गरेको शुल्क आफैं व्यहोर्छ । बाँकी पदाधिकारी तथा पहुँचवालाले प्रयोग गर्दा निर्धारित शुल्क लिएर सेवा दिँदै आएको सैनिक अधिकारीले जनाए ।
भिआइपीका नाममा गरिएका कतिपय उडानको दशकौंदेखिको शुल्क उठाउन नसकिएको सेनाले जनाएको छ । –कारोबार दैनिकबाट




प्रतिक्रिया दिनुहोस्