६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


कांग्रेस महामन्त्री थापा भन्छन्: ‘संघीयताको सबै भन्दा ठूलो समस्या प्रदेश हैन, संघ हो’


351
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबै भन्दा ठूलो समस्या प्रदेश नभएर संघ नै भएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको जिकिर गर्नुभयो । कांग्रेस र नेकपा एमालेले सरकार बनाउँदै गर्दा संविधान संशोधन गर्नेकुरा पहिलो प्राथमिकतामा परेको उहाँले उल्लेख गर्नुभयो । अब संख्या वा अन्य कुनै बहानामा पनि पछि हट्न नहुने उहाँको भनाइ छ ।

उहाँले ठूला शक्तिहरुले जोखिम उठाउनसक्नुपर्ने बताउनुभयो । संविधान संशोधनको विषय कसरी अघि बढाउने भन्नेमा छलफल गर्न सकिने उहाँको तर्क छ । महामन्त्री थापाले संसद समावेशी बनाउने र ५ वर्ष एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्नेगरी छलफल अघि बढाउन जरुरी रहेको समेत बताउनुभयो । न्यायपालिकाको बारेमा पनि छलफल गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

अदालतमाथि यसअघि यति धेरै प्रश्न उठेको कुरा आफूले थाहा नपाएको समेत उहाँले बताउनुभयो ।