५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आएको भनेर आरोप लगाइयोः प्रमुख सचेतक घिमिरे


1.066k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गर्नुभएको छ ।

सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलको क्रममा प्रमुख सचेतक घिमिरेले समितिकै सांसदहरुले आफूलाई समितिमा आउँदा कसैको चाहनामा स्वार्थकेन्द्रित भएर समितिमा आएको भनेर अभिव्यक्ति दिएको बताउनुभयो । विधेयक रोक्ने कुनियतका रुपमा अपव्याख्या गर्ने काम भएको उहाँको भनाइ छ । त्यसमा आफ्नो कुनै आपत्ति नरहेको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘मलाई त यतिसम्म आरोप लगाइयो की, यो विधेयकै रोक्न आएको हो । कसैको निजी इन्ट्रेस्टमा विधेयक रोक्न आयो भन्नेसम्मको आरोप यो समितिमा खपेको मान्छे हुँ म । समितिको सदस्यले समितिमा अभिव्यक्त गरेका धारणालाई विधेयक रोक्ने कुनियतको ढंगले साथीहरुले परिभाषित गर्नुभयो । त्यसमा पनि मेरो केही आपत्ति छैन । म उहाँहरुको धारणालाई सम्मान नै गर्दछु ।’

प्रमुख सचेतक घिमिरेले निजी विद्यालयका कारण सार्वजनिक विद्यालय बिग्रिए भन्ने कोणबाट धारणा बनाइएको पनि बताउनुभयो । उहाँले आफू बिग्रिनुको कारण अर्को सप्रिनु नभएको बताउनुभएको छ । आफ्नो कामजोरी औंल्याएर अघि बढ्न जरुरी रहेको समेत उहाँले बताउनुभयो ।