
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको आवश्यकता परेको बताउनुभएको छ ।
काठमाडौं बुधबार नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने बताउनुभएको हो । कांग्रेस चुनाव नलढेको समयमा पनि राष्ट्रिय पार्टी भएको उहाँको दावी छ । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उहाँको भनाइ थियो ।
राष्ट्रको अगाडि आएको सबै भन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने, सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको बताउनुभयो । अहिले देशमा ठूलो असन्तुष्टि रहेको बताउँदै उहाँले नेपाली समाजलाई यसबाट बाहिर निकाल्नुपर्नेमा जोड दिनभएको छ । कांग्रेसलाई आत्मविश्वास र शुद्धता चाहिएको उहाँले बताउनुभयो ।
महामन्त्री थापाले सत्तामा र शक्तिमा पुग्नका लागि आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त गरिएको सत्ताको अर्थ नरहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्