२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


नेपालको जैविक विविधता संकटमा: राष्ट्रपति पौडेल


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ अर्ब भन्दा बढी मानिसहरुका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता संकटमा रहेको बताउनुभएको छ ।

काठमाडौंमा सोमबार हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालसहित हिन्दुकूश हिमालय देशहरू संकटपूर्ण अवस्थामा रहेका कारण सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताउनुभएकाे हाे । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब केवल वैज्ञानिक प्रतिवेदनमा सीमित नभएको बताउदै उहाँले हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर हो । यो हिन्दूकुश हिमालय क्षेत्रको भूगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसर हो ।’ राष्ट्रपति पौडेलले जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय रहेको समेत बताउनुभयो ।

जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको बारेमा आफूले विश्व मञ्चमा विश्व समुदायलाई ध्यानाकर्षण गर्दै आएको समेत उहाँले बताउनुभएको छ । विश्वव्यापी तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरूले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जाेड दिनुभयाे ।

उहाँले हिमालय क्षेत्रमा तापक्रम औषत भन्दा बढी वृद्धि भएको बताउनुभएको छ। नेपाल जैविक विविधताका दृष्टिले धनी रहेको समेत उहाँले उल्लेख गर्नुभयो । विश्वका दुर्लभ वनस्पति र जनावरको बासस्थान नेपालमा रहेको उहाँको भनाइ थियो ।

वैज्ञानिक तथ्य, जन-आवाजलाई आधार मानेर जलवायु जैविक विविधता र वायु प्रदूषण सम्बन्धी समय सापेक्ष, जनमुखी र कार्यान्वयनयोग्य नीति तर्जुमा गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।