
काठमाडौँ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ ओटा मोटरसाइकल र स्कुटर फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर धनीलाई बुझाइएका हुन्।
निवेदनका आधारमा गरिएको खोजतलासमा केही सवारी वास्तविक नम्बर प्लेटसहित र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, नयाँबानेश्वर, स्वयम्भू, बालाजु लगायतका स्थानबाट सवारी साधन बरामद गरिएको प्रहरीले जनाएको छ।
साउन महिनादेखि अहिलेसम्म ५२ ओटा सवारी साधन फेला पारेर धनीलाई बुझाइसकेको कार्यालयले जनाएको छ। यसक्रममा चोरीमा संलग्न तीन व्यक्तिलाई दुई पाङ्ग्रे सवारीसहित नियन्त्रणमा लिएर सम्बन्धित प्रहरी परिसरमा पठाइएको छ।
सवारी धनीहरूले सवारी फेला परेकोमा खुशी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ४१७ ओटा र २०८१/८२ मा ५०३ ओटा दुईपाङ्ग्रे सवारी फेला पारी धनीलाई बुझाइसकेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ। सवारी चोरी रोक्न सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, डिस्क लक तथा सुरक्षा साइरन प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले अनुरोध गर्नुभएको छ ।
सवारी हराएमा ट्राफिक प्रहरी हटलाइन १०३ वा नेपाल प्रहरी हटलाइन १०० मा सम्पर्क गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने उनले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्