
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताउनुभएको छ ।
आइतवार ललितपुरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोवल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएको खुकुलो बनाउन नसकिने बताउनुभएको हो ।
नेपालमा मिर्गौला, आँखा लागयतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंगहरु पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको बताउनु भयो । उहाँले यदी मानव अंग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानून बनाउने हो भने यसले विकृति भित्र्याउने बताउनु भयो । मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अंगहरु झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको बताउनु भयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘हामी कहाँ जति किड्नी चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन । जति लिभर चाहिने हो त्यति
प्राप्त भएको स्थिति छैन । जति आँखा चाहिने हो त्यो प्राप्त भएको छैन । शरीरका ६ वटा अंग झिकेर अर्कोमा ट्रान्सप्लान्ट गर्न मिल्छ । अब यो ट्रान्सप्लान्ट जसबाट निकालेर पनि गर्न मिल्ने बनाउन मिल्दैन । किनभने यो बेचिन्छ । अहिले आइभिएफको एउटा समस्याका कारणले यो बेचिएको छ भनेर भन्न थालिएको छ । भारतमा १९८२ सम्म एकले अर्कालाई अंगहरु सजिलै दिन पाउने व्यवस्था थियो । त्यहाँ धेरै गरिबहरुले अंग बेचे । फेरि त्यसलाई बन्द गरियो ।
नेपालमा पनि नाता पर्नेहरु, नाताको दायरा पनि एकदमै सिमित छ । कानून खुकुलो बनाउँ यसले बेथिति बढाउँछ, अब एउटा उपाय के छ भने इरानमा यसको सफल प्रयोग भइरहेको छ । पहिला मान्छेको ब्रेन मर्छ, ब्रेन मरेको २४ घण्टाभित्र उसको अंग झिक्न खोज्यो भने झिक्न सकिन्छ ।
ब्रेन डेथपछि अंग झिकेर त्यसलाई त्यहीअनुसार संग्रह गर्ने हो भने हामीले त्यो अंग अर्को किड्नी फेल भएकोलाई दिन सकिन्छ । आँखा नदख्नेलाई आँखा दिन सकिन्छ ।’ मन्त्री पाडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताउनु भयो । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनु भयो । धनी मानिस सुखी नहुने भन्दै स्वस्थ मानिसमात्रै सुखी हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्