
कठमाडौं ।
आज आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।
साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनको बिहानदेखि घुइँचो लागेको छ ।
आजको दिनमा महिलाहरूले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्