२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


कुलिङ पिरियड छेडखानीका लागि गठित संसदीय छानविन समितिले टुंग्यायो कार्यविधि


3.952k
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलबारबाट काम शुरु गरेको र आजको बैठकले अन्तिम रुप दिएको जानकारी दिनुभयो । अब पारित गर्न मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । गडबडीबारे छानबिन गर्न प्रतिनिधि सभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो । समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका सांसद जीवन परियार हुनुहुन्छ ।

संसदको नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य छन् । नेपाली कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा हुनुहुन्छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की हुनुहुन्छ । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।

बैठक बिहीबार १२ बजे बस्नेछ ।