२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


शेयर बजारमा गिरावट


468
Shares

काठमाडौं । पछिल्ला ६ दिन लगातार बढेको शेयर बजार परिसूचक सोमबार भने दोहोरो अंकले घटेको छ ।

दिनभरको उतार चढावकाबीच सोमबार बजार परिसूचक नेप्से २२ दशमलव ३५ अंक घटेर २६८४ को विन्दुमा झरेको छ ।

नेप्से घटेसंगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहको परिसूचक भने घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशतले घटेको छ । २ सय ९ वटा कम्पनीको शेयर मूल्य घट्दा ३९ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ ।

आज दिनभरमा ३११ वटा स्टकको एक करोड ९४ लाख १५ हजार कित्ता शेयर ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरमा खरिद विक्री भएको छ । सोमबार माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६ दशमलव ५६ प्रतिशतले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८० करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।