१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


निजामति विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्ति बाहेक भन्ने शब्द परेपछि खैलाबैला


6.734k
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामति कर्मचारी विधेयकबाट कुलिङ पिरियड कुनैपनि हालतमा नहट्ने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति खतिवडालेले प्रतिनिधि सभाबाट आईतवार बहुमतले पारित भएको निजामति कर्मचारी विधेयकमा केही असमझदारी भएको कुरा आएको भन्दै समितिका सदस्यहरु बसेर स्पष्ट गरिएको बताउनुभयो । कुनैपनि निजामति कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति कुनैपनि खान नपाउन स्पष्ट व्यवस्था गरिएको बताउनुभयो । संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द रहेको भन्दै त्यसलाई सच्याएर राष्ट्रिय सभामा पठाइने बताउनुभयो ।

समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको थियो । सोही क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले समितिले पास गरेर पठाएको दुई वर्षको कुलिङ पिरियड राख्न धेरै संघर्ष गर्नुपरेको बताउनुभयो । उहाँले समितिबाट पास गरिएको विधेयक नै संसदबाट पनि पारित भएको आफूहरुको विश्वास रहेको बताउनुभयो । उहाँले भन्ने एकथोक तर लेख्ने बेलामा कमा र र छुटाउने गरेको भन्दै यसमा आफूहरु सजग रहेको बताउनुभयो ।