१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


राजनीतिमा थकाई भन्ने शब्द हुँदैन : पूर्वराष्ट्रपति भण्डारी


754
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताउनुभयो । उहाँले फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताउनुभयो । अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको बताउनुभयो । यसमा आफूले गर्व महशुस गरेको जिकिर गर्नुभयो । आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताउनुभयो । राजनीतिमा थकाइ भन्ने शब्दावली नरहने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले सदाझैँ सबैको सधैँभर माया र विश्वास पाइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।