२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


स्थानीय तहको संख्या ५ सय बनाउन छलफल सुरु भएको छ : सचिव भट्टराई


9.945k
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा सचिव भट्टराईले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताउनुभएको हो ।

सचिव भट्टराईका अनुसार स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्छ । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै संघीयतालाई प्रभावकारी बनाइँदै लगिने बताउनुभयो । उहाँले अनौपचारिक हिसावले ५ सय स्थानीय तहको संख्या बनाउनेबारे छलफल चलिरहेको बताउनुभयो । उहाँले यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताउनुभयो ।

सचिव भट्टराईले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभयो ।

आर्थिक, प्रशासनिक, राजनीति रुपमा संघीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रुपमा संघीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको बताउनुभयो । पूर्वमन्त्री समेत रहनुभएका भट्टराईले निजामती ऐन, प्रहरी, शिक्षा ऐन बनाएर प्रशासनिक संघीयतालाई कार्यान्वयनमा लगिने बताउनुभयो ।

सचिव भट्टराईले आगामी बजेटबारे उहाँले यसपटकको बजेटले योजनाहरुलाई प्रतिफलमुखी बनाउन खोजेको बताउनुभयो । उहाँकाअनुसार संघीयतामा स्थानीय तह र प्रदेशले आफ्नो स्रोत सदुपयोग गर्नुपर्छ । केही अप्ठ्यारा छन् भने हटाइदिनुपर्छ । स्रोत सदुपयोग बढाउन जरुरी छ । तहगत सरकारले प्रशांसायोग्य काम गरेका छन् । जाजरकोट, रुकुमको भूकम्पमा स्थानीय तहको भुमिका महत्वपूर्ण छ ।