२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


आइतबारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अघि बढ्छ : महेश बर्तौला


1.222k
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आइतबारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडि बढ्ने बताउनुभएको छ ।

शुक्रबार नयाँ वानेश्वरस्थित संघिय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने बताउनुभयो । उहाँले प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिने समेत जिकिर गर्नुभयो ।

मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गर्नुभयो । साथै, उहाँले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताउँदै बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत जिकिर गर्नुभयो । उहाँले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढङ्गले सञ्चालन हुने दोहोर्‍याउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोषमै नरहेको जिकिर गर्नुभयो ।