Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


समृद्धिको जनआकांक्षा सम्बोधन गर्ने बेला आयो : मुख्यमन्त्री पोखरेल


0
Shares

बुटवल, असोज ३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अधिकारमुखी आन्दोलन छाडेर समृद्धिको जनआकांक्षा सम्बोधन गर्ने बेला आएको बताएका छन् ।

बुटवलमा भएको प्रदेशस्तरीय संविधान दिवस समारोहलाई बुधबार सम्बोधन गर्दै उनले नयाँ संविधानपछि मुलुक राजनीतिक दुष्चक्रबाट बाहिर आएको बताए । संविधान अनुसार तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत सरकारको नेतृत्व सम्हालेदेखि संघीयताको व्यवहारिक कार्यान्वयन शुरु भएको उनको भनाइ थियो ।

उनले प्रदेश सरकार योजनाबद्ध विकास गर्ने कोशिसमा रहेको बताए । उनले यो बर्ष प्रदेशको आवधिक योजना तर्जुमा गर्ने र आवश्यक कानुनहरु निर्माण गर्ने बर्षको रुपमा अघि बढाउने बताए । 

मुख्यमन्त्री पोखरेलले संविधानले सोही बाटोतर्फ अघि बढ्न निर्देश गरेको भन्दै राष्ट्रिय एकता र अखण्डता कायम गर्दै अघि बढ्ने प्रण गरे । 

प्रदेश सरकारको आयोजना तथा बुटवल उपमहानगरको समन्वयमा भएको संविधान दिवस मूल समारोह अघि बुटवलमा र्‍याली निकालिएको थियो । मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय दरबार मार्गबाट शुरु भएको प्रभातफेरीले बुटवल नगर परिक्रमा गरेको थियो । 

प्रभातफेरीमा प्रदेश ५ का प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदहरु, सरकारी उच्च पदस्थ कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी तथा बुटवल उपमहानगरसहितका विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए । प्रभातफेरी पश्चात बुटवल बहुमुखी क्याम्पसमा विशेष समारोह आयोजना गरिएको थियो । 

संविधान दिवसका अवसरमा प्रदेश सरकारले तीन दिने विविध कार्यक्रम राखेको छ । दिवसको अवसरमा मंगलबार साँझ बुटवलमा दीप प्रज्वलन गरिएको थियो । प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु झिलिमिली बत्तीहरुले सजाइएको छ ।