
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नियो बैंक स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारेमा जानकारी गराउनुभएको हो । उहाँकाअनुसार आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिनेछ ।
दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गर्ने बताउनुभयो । डिजिटल, मोवाइल तथा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरिने जानकारी दिनुभयो । प्राकृतिक प्रकोप, विपद् र दूर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पती बीमाको दायरा विस्तार गरिने बताउनुभयो ।
बीमा कम्पनीहरूलाई ग्रामीण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशित गरिने बताउनुभयो । साइवर सुरक्षा बीमा सेवा सञ्चालन गरिने, निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनको लागि पुनर्बीमाको व्यवस्था मिलाइने जानकारी दिनुभयो । ग्रीन ट्याक्सोनोमीको अवधारणाअनुरूप हरित तथा दिगो विकास वण्डको माध्यमबाट निजी पुँजी परिचालन गर्न आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था मिलाइने, लोकल करेन्सी लिंक्ड वण्ड जारी गरी अन्तर्राष्ट्रिय बजारबाट पुँजी भित्र्याइने बताउनुभयो ।
धितोपत्र बजारमा सूचीकृत लगानी कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने बताउनुभयो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्नसक्ने गरी कानूनी व्यवस्था गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्