१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


गृह मन्त्रालयले भन्यो – भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन


2.028k
Shares

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएका अनियमिततासम्बन्धी घटनासँग मन्त्रालय नेतृत्वलाई जोडर आएका समाचारमा कुनै सत्यता नभएको जिकिर गरेको छ ।

मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार विज्ञप्ति जारी गर्दै विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य–तथ्य सबैको जानकारीमा आउने उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्वन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने जनाइएको छ । अध्यागनम कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचारमा कुनै आधार नभएको गृह मन्त्रालयको दाबी छ ।

मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्न नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसमेत गर्दै आइरहेको उल्लेख गरिएको छ ।

सेटिङमा भिजिट भिसामार्फत नेपाली युवालाई यूएईलगायत देश पठाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियारले यही जेठ ७ गते गृहका सहसचिव तीर्थराज भट्टराईसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो । भिजिट भिसामा नेपालीलाई विदेश पठाउने मानव तस्करको सेटिङमा गृहमन्त्री रमेश लेखक र उहाँको सचिवालय समेत मुछिएको छ ।