३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


‘मागअनुसारको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्छ’


4.914k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तामाङले आपूmहरुले सात वटा जिल्लाका सांसदहरुका लागि तीनरतीन करोडको दरले २१ करोड बजेट माग गरिएको जानकारी दिनुभयो । यदि आफूहरुको मागबमोजिमको बजेट विनियोजन नभए संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको लिष्ट तयार गरेर छानविनका लागि समिति बनाउन बाध्य हुने उहाँको भनाइ थियो । उहाँले बैठकमा देशका लागि कसरी राम्रो काम गर्न सकिन्छ भन्नेतर्फ पार्टी सभापतिको ध्यानाकर्षण गराएको जानकारीसमेत दिनुभयो ।

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले विकास निर्माणमा अब्जेक्सन ल्याउने काम नगर्न सांसदहरुले नेतृत्वलाई सुझाव दिएको बताउनुभयो । शनिवार बसेको संसदीय दलको बैठकमा उहाँले बजेट निर्माणमा पक्षपात नगर्न र सतहत्तर वटै जिल्लामा समान रुपमा विकासका कार्यक्रम लैजान सुझाव दिइएको जानकारी दिनुभयो ।

उहाँले विगतमा बजेट निर्माण गर्दा पक्षपात हुने गरेको भएपनि नेतृत्वबाट यसपटक त्यसो नहुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।