
काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलकै अनुभवी नेताहरु सक्रिय नभएको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि-बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताउनुभएको हो ।
नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै सांसद थापाले बजेट वक्तव्य जारी नहुँदै सत्तारुढ दलकै नेताले बजेट पुस्तक च्यात्ने धम्की दिनेकुरा पनि आश्चर्य भएको बताउनुभयो ।
बुधबारको सभाको बैठकमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणका लागि बजेट विनियोजन नगरिए बजेट पुस्तक च्यात्ने चेतावनी दिनुभएको थियो । सांसद थापाले सत्तारुढ दलकै नेताहरुले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
सत्तारुढ दलकै सांसदहरुले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसतर्फ सोच्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्