२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


शिक्षा र परराष्ट्रमा आकस्मिक डेस्क बनाएर नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गरियोस् : देवेन्द्र पौडेल


247
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर संसारभर रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गर्ने सरकारसमक्ष माग गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सचिव पौडेलले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रकृति लम्सालको निधनको पीडा र घाउ सेलाउन नपाउँदै अर्को घटना भएको बताउनुभयो ।

सचिव पौडेलले केही दिन मात्रै नेपाली विद्यार्थी प्रिशा साहको उक्त विश्वविद्यालयमा निधन भएको बताउँदै यस्ता घटनाहरू संयोग हुन वा कारण त्यसको खोजी नीति गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको लागि थप जोखिम हो/होइन भन्ने कुरा अनुसन्धान भइरहेको छ भन्ने कुराले मात्रै नपुग्ने बताउनुभयो । उहाँले संसारभर भएका नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग राख्नुभयो ।

सचिव पौडेलले हिजोदेखि कक्षा १२ को परीक्षा शुरु भएको बताउँदै परीक्षा बोर्डलाई प्रभावकारी बनाउन शिक्षकहरूका समस्याहरूलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।