१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन् : परराष्ट्रमन्त्री राणा


286
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन भएको बताउनुभएको छ ।

सोमबारदेखि बैंककमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१ औँ सत्रको सम्बोधनमा परराष्ट्रमन्त्री राणाले एशिया तथा प्रशान्त क्षेत्रले अव्यवस्थति शहरीकरणको ठूलो समस्या भोगिरहेको बताउनुभयो । उहाँले योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको उल्लेख गर्दै राम्रोसँग योजनावद्ध शहरी विकास गर्नपर्नेमा जोड दिनुभयो ।

परराष्ट्रमन्त्री राणाले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले एशिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएको बताउनुभयो ।

परराष्ट्रमन्त्री राणाले वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको बताउनुभयो ।