Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा


0
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै तयारी पुरा भएको जानकारी दिनुभएको हो ।

चैत ७ गतेदेखि देशभर एकैसाथ एसइई परीक्षा हुँदै छ । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ ।

गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी भएका थिए भने यसवर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुने भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।

यस वर्षको एसइई परीक्षा चैत ७ देखि शुरु भएर १९ गते सम्पन्न हुनेछ । परीक्षा बिहान ८ देखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।