२ असार २०८२, सोमबार | Mon Jun 16 2025


डिजिटल प्रविधिका कारण रोजगारीको संख्या गुम्यो : मुख्यमन्त्री लामा


2.886k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेश हस्तकला संघको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले बहुउद्देश्यीय उद्योगमार्फत एउटै उद्योगबाट हजारौँलाई रोजगारी सिर्जना गर्न सकिने भएकाले उद्योग ग्राम स्थापना गर्नुपर्नेमा बताउनुभयो ।

मुख्यमन्त्री लामाले सरकारी कार्यालयहरुमा डिजिटल प्रविधिमा काम गर्दा धेरैले गर्ने काम एउटै व्यक्तिले गर्न सकिने भएकाले रोजगारीको संख्या घटेको बताउनुभयो । काठमाडौं उपत्यकामा विभिन्न संस्कार र संस्कृतिसँग जोडिएर सञ्चालित उद्योगहरुले रोजगारी सिर्जना गरेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री लामाले पुरातन तरिकाबाट पारिबारिक रुपमा सञ्चालित उद्योगको पुस्तान्तरण समस्या देखिएको बताउनुभयो । उहाँले हातबाट बनेका संस्कार र संस्कृतिसँग जोडिएकाले महँगो भएपनि प्रयोग गर्ने चलन भएकाले यस्ता उद्योगहरुले राम्रो अवसर पाएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री लामाले भारतलगायत विभिन्न देशमा एउटै उद्योगबाट लाखौँको संख्यामा रोजगारी सिर्जना गरेको बताउनुभयो । उहाँले नेपालको बजेटमा धेरै कार्यक्रम समावेश गर्दा समस्या देखिएको बताउनुभयो । उहाँले सञ्चालित उद्योगलाई सरकारले अवसर प्रदान गर्नुपर्ने तथा उद्यमीले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।