काठमाडौं, भदौ ३१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद चन्दा चौधरीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा माग गरेकी छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले पोखरामा रेड लाइट एरिया घोषणा गरी यौनकर्मीलाई परिचयपत्र वितरण गर्नुपर्ने मुख्यमन्त्री गुरुङको अभिव्यक्ति नारी अस्मितामाथिको प्रहार भन्दै राजीनामा माग गरेकी हुन् । नैतिकताका आधारमा मुख्यमन्त्री गुरुङले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।
गतहप्ता पोखरामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङले रेड लाइट एरिया तोकेर यौनकर्मीलाई परिचयपत्र दिएर कर लिनुपर्ने अभिव्यक्ति दिएका थिए ।
यस्तै, विशेष समयमा भाग लिँदै कांग्रेस सांसद दिव्यमणी राजभण्डारीले समाज कल्याण परिषद्को भवनलाई उपराष्ट्रपति कार्यालय बनाउने सरकारको तयारी प्रति आपत्ति जनाए । उनले सामाजिक सेवाको भवन उपराष्ट्रपतिको विलासी जीवन बिताउन प्रयोग गर्न दिनु जनताले तिरेको करको दुरुपयोग भएको आरोप लगाए ।
सांसद राजभण्डारीले निजगढ विमानस्थल निर्माणको नाममा सरकार र सत्तारुढ दलले ब्रम्हलुट मच्याउन खोजेको आरोप पनि लगाए ।
संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले निजगढ विमानस्थलको काम अघि बढ्दा सयौं व्यक्ति विज्ञ बनेर काममा अवरोध गर्न खोजेको आरोप लगाए ।
नेकपामा सांसद नवराज सिलवालले भुटानले प्रतिबन्धित भारतीय रुपैयाँ साट्न सक्ने तर नेपालले किन साट्न सकेन् भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाए ।
यसअघि, बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्