Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


१९ लाख नागरिक सवारी चालक अनुमति पत्रको प्रतीक्षामा


2.4k
Shares

काठमाडौं । सवारी चालक अनुमति पत्र वितरण रोकिएको वर्षौ भइसक्यो । स्मार्ट कार्डको अभाव देखाउँदै रोकिएको चालक अनुमतिपत्र वितरण अत्यावश्यक पर्नेहरुलाई मात्रै दिने गरिएको छ । यातायात व्यवस्था विभाग भने सधै छिट्टै कार्ड वितरण सहज हुने भन्न छोड्दैन ।

१९ लाख मानिसहरु लाइसेन्स लिने प्रतीक्षामा छन् । यो संख्या घट्ने भन्दा बढ्ने क्रम छ । तीन वर्ष अघि आवेदन दिएकाले समेत लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागले भने स्मार्ट कार्ड छपाई प्रक्रिया अघि बढाइसकेको र कार्ड वितरण अब सहज हुँदै जाने दाबी गर्न छाडेको छैन । २१ लाख कार्ड बाँड्नु पर्नेमा २ लाख छपाई भएर वितरणका लागि समन्धित कार्यालयमा पठाइसकेको दाबी विभागको छ । विभागका प्रवक्ता इश्वरीदत्त पनेरु आगामी दिनमा प्रदेश अनुसार लाइसेन्स प्रदेशबाटै छाप्ने बारेमा कुरा अगाडि बढेको बताउनुभयो ।

सरकारले सेवाग्राहीलाई सजिलो रुपमा सेवा दिन ’स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको भए पनि सेवा व्यवस्थित बनाउन नसक्दा सेवाग्राहीले उल्टै सास्ती भोग्नु पर्दै आएको छ ।

चालक अनुमतिपत्र छाप्ने कार्ड सकिएको भन्दै विभागले आकस्मिक आवश्यकताका लागि मात्रै दैनिक तीन सय ५० कार्ड वितरण गर्दै आएको छ । कार्ड र छपाइ मेसिनका लागि भारतिय कम्पनी सङ्गको सम्झौता समाप्त भएपछि उक्त कम्पनिले टेण्डर नहाल्दा अर्कै कम्पनीसङ्ग काम गर्नुपर्दा स्मार्ट कार्ड बितरणमा ढिलाइ हुन गएको यातायात ब्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताउनुभयो ।

कहिले उपकरण वा सामग्री खरिदको बहाना त कहिले कार्ड अभावको बहाना देखाउँदै सवारी चालक अनुमतिपत्र वितरण वर्षाैंदेखि अवरुद्ध छ ।