२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अनाहकमा उपत्यकाबासीलाई सास्ती


845
Shares

काठमाडौं । पेट्रोलिय ढुवानी ट्यांकर चालक संघले थानकोट डिपोबाट इन्धन ढुवानी नगर्दा उपत्यकाबासीले अनाहकमा सास्ती व्यहोर्नु पर्‍यो । माग पूरा गराउने नाममा आम उपभोक्तालाई सास्ती दिनेगरी हुने यस्ता आन्दोलनहरुप्रति राज्य पनि बेलैमा सचेत नभएको महशुस सर्वसाधारणले समेत गरेका छन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ७ बुँदे माग राखेर गरेको आन्दोलनको प्रभाव सोमबार पनि दिनभर उपत्यकाका पेट्रोल पम्पहरुमा पर्‍यो । उपत्यकाका सम्पूर्ण निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री बन्द गरेपछि त्यसको चाप एकाएक सरकारी स्वामित्वका पेट्रोल पम्पहरुमा परेको थियो । ट्यांकर चालकहरुले आइतबारदेखि नै तेल ढुवानी रोकेकाले उपभोक्ताहरु बिहानैदेखि लाइनमा बसेका थिए । नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा ८ देखि ९ घण्टासम्म लाइन बस्दाको हैरानीका कारण सेवाग्राहीहरु आक्रोशित समेत बनेका थिए ।

ट्यांकर चालकहरुले गरेको आन्दोलनका कारण निजी पेट्रोल पम्पहरुले पेट्रोलको अभाव देखाई सूचना टाँसे पनि आम उपभोक्ताको बुझाइ भने फरक पाइयो । केहीले भने टयांकर चालकहरुको आन्दोलनका कारण आफुहरुले सास्ती बेहोर्नु परेको भन्दै दुखेसो पोखेका थिए ।

नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र साझा पेट्रोल पम्पले आफ्नो ट्यांकरबाट इन्धन ढुवानी गरि बिक्री वितरण गरिरहंदा नेपाली सेनाले भने सरकारी बिदाका दिन पनि समय थपेर बिक्री गर्दा पेट्रोल सकिएपछि लाइन बसेकाहरु आक्रोशित बनेका थिए ।

कुनै समूह विशेषले माग पूरा गराउने नाममा अत्यावश्यक सेवाको क्षेत्रमा समेत आन्दोलन गर्दा त्यसको शिकार आम उपभोक्ता मात्रै भएनन्, राज्यको निरीहपन पनि छचल्कियो ।