
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताउनुभएको छ । आइसिसी टी—२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
कप्तान रोहितले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताउनुभयो । उहाँले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताउनुभयो । उहाँले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताउनुभयो ।
कप्तान रोहितले भन्नुभयो, ‘वेस्टइण्डिजको पिच स्पिनरका लागि एकदमै राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टि—२० मा । अब राम्रो हुनेछ । श्रीलंका टिम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउनसक्यो भने जित्ने सम्भावना हुन्छ । शुरुवाती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेण्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ ।’
कप्तान रोहितले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्