
काठमाडौं । साविक विजेता नेपालले प्रिमियर कपमा विजय सुरुवात गरेको छ ।
नेपालले मलेसियामाथि ५ विकेटको क्षतिमा संघर्षपूर्ण जित हासिल गर्दै विजय शुरूआत गरेको छ ।
आज अल अमेरात क्रिकेट ग्राउन्डमा सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । कप्तान रोहितकुमार पौडेल २८ रन जोडे । कुशल भुर्तेलले २४ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाउँदा गुल्शनकुमार झा १९ र सन्दीप जोरा १२ रनमा अविजित रहे । मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । जितसँगै नेपालले २ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्