Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


१२ वर्षे फूल्चोकी माई दर्शन १७ गते हुने


3.3k
Shares

काठमाडौं । श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व अन्तर्गतको अन्तिम कार्यक्रमस्वरुप हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन चैत १७ गते हुने भएको छ ।

बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले यसबारेमा जानकारी गराइएको हो ।

शनिबारका दिन बिहान ४ बजे हरसिद्धि भवानीको प्राङ्गणमा भेला भइ हरिसिद्धि भवानीका पुजारीहरूद्वारा पुजासामग्री, काहा बाजा, धिमे बाजासहित सबै भक्तजनहरूले कोपुली नौधारा मन्दिरमा पुजागरी फुल्चोकीमा गएर फुल्चोकी माईको पुजागरी हरसिद्धि भवानी १२ वर्षे सिद्धि दनेगु कार्य औपचारिक रूपमा सम्पन्न हुने छ ।

पूजापछि गोदावरीको हरसिद्धि चौर (जल ख्यः) मा हरसिद्धि भवानीको प्रतिक स्वरूपको पुजा कलश विराजमान गरी पुजारीहरूलाई प्रसाद ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । सरकारी पूजागरी क्रमवद्धरूपमा श्रद्धालु भक्तजनहरूको पूजा (छायछी) गरी विभिन्न साँस्कृतिक बाजा खलःहरूलाई भोज खुवाउने कार्यक्रम पनि रहेको बताइएको छ । बाडेगाउँस्थित जलःगामा द्यो लिछोया थैबको जलः चपाको बाटो भई हरिसिद्धिको वपी टोलको ढोकाबाट निःब हुँदै हरिसिद्धि भवानीको प्राङ्गणमा पुगे पश्चात १२ वर्षे मेला सम्पन्न हुनेछ ।

पत्रकार सम्मेलनमा जानकारी दिँदै ललितपुर महानगरपालिका, २८ का अध्यक्ष वीरेन्द्र महर्जनले हरेक वर्ष हरिसिद्ध भवानीको नाच देखाइने र सो नाचहरु योमरी पुन्ही, फागु पूर्णिमाको दिन दिनभर र दशैँको दिनमा समेत एक पटक देखाइने गरेको बताउनुभयो । उहाँले हरिसिद्धि भवानीको नाच विक्रम संवत १००३ देखि प्रचलनमा आएको बताउनुभयो । हरिसिद्धि नाच नेपालको पहिलो मुकुण्डो नाच हो । उहाँले यस पटक प्रत्येक १२ वर्षमा नाच धुलीखेल, दोलखा, पशुपति, पनौतीमा देखाउने कार्य सम्पन्न भइसकेको बताउनुभयो ।

श्री हरसिद्धि भवानीको १२ बर्षे फूल्चोकी मेला सभ्य र भव्यताका साथ सम्पन्न गर्न श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले आग्रह गरेको छ ।