काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी निर्मला पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दै आजको प्रतिनिधिसभा बैठक केहीबेर अवरुद्ध गरेको छ ।
पन्तको बलात्कारपछि हत्याको घटना नाटकीय रुपमा जटिल र रहस्यमय बन्दै गएको तथा एकपछि अर्को अनुसन्धान टोली परिर्वतन भइरहे पनि बास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै कांग्रेसले त्यसबारे सरकारको जवाफ माग गरेको छ ।
बैठकको प्रारम्भमै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे सदनलाई जानकारी नगराएसम्म सदन चल्न नदिने बताए ।
अनुसन्धानमार्फत वास्तविक दोषी पत्ता लगाउनतर्फ भन्दा पनि समग्र राज्य संयन्त्र नै वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको उनको आरोप थियो ।
पछिल्लो अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव वीरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा गम्भीर प्रश्न उठाउँदै राजीनामा दिएको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग गरेको छ ।
कांग्रेसले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याका दोषीलाई किन पक्राउ गर्न नसक्नुको कारण र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई नियन्त्रणमा लिनुको कारणबारे पनि सरकारसँग जवाफ मागको छ ।
बस्नेतलाई अकारण नियन्त्रणमा लिएर सरकारले पत्रकारमाथि आक्रमण र प्रेस स्वन्त्रचतामाथि हस्तक्षेप गर्ने काम गरेको ठहर कांग्रेसले गरेको छ ।
यी सबै घटना बारे सरकारको जवाफ माग गर्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।
दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताए ।
उनले सबै घटनाका अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै भोलि विभागीय मन्त्रीले जवाफ दिने प्रतिवद्वता जनाएपछि बैठक सुचालु भएको थियो ।
बैठकमा मौलिक हक कार्यान्वयन सम्बन्धि ५ वटा विधेयक पनि प्रस्तुत गरिएको छ ।
जसमा उपभोक्ता संरक्षण, आवासको अधिकार, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य त्यसैगरी जनस्वास्थ्य र रोजगारीको हक सम्बन्धि विधेयक रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्