३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


पाकिस्तानी राजदूतावासद्वारा कश्मीर एकता दिवसको अवसरमा छलफल आयोजना


117
Shares

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले कश्मीर एकता दिवसको अवसर पारेर काठमाडौंमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासले “कश्मीर एकता दिवसः “निरन्तर उत्पीडनको सामनामा असहज लचिलोपन“ शीर्षकमा छलफल गरेको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार छलफलमा पत्रकार, लेखक, विश्लेषक, मानव अधिकारकर्मीहरुले कश्मीरबारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले विगत ७६ वर्षमा आत्मनिर्णयको अधिकारका लागि न्यायसंगत संघर्षमा कश्मीरीहरूको लचकताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

अल्वीले सन्देशमा ११ डिसेम्बर २०२३ को भारतीय सर्वोच्च अदालतको फैसला कश्मीरी जनताको आत्मनिर्णयको अधिकारलाई कमजोर पार्ने भारतको चाहनाको अर्को अभिव्यक्ति भएको उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा उल्लेखित आत्मनिर्णयको अधिकार प्राप्त नभएसम्म पाकिस्तानले कश्मीरी जनतालाई निरन्तर नैतिक, कूटनीतिक र राजनीतिक समर्थन जारी राख्ने कुरा पनि अल्वीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यसैगरी आफ्नो सन्देशमा, पाकिस्तानका प्रधानमन्त्री अनवर–उल–हक कक्कडले आत्मनिर्णयको अधिकारको प्राप्तिका लागि कश्मीरी जनताको न्यायसंगत संघर्षलाई पाकिस्तानको अटल समर्थन रहेको बताउनुभएको थियो ।

पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीले भारतले कश्मीरी जनतालाई आधारभूत मौलिक अधिकारबाट वञ्चित गरेको भन्दै सन्देशमा भारतको निन्दा गर्नुभएको छ ।

छलफल कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले जम्मू–कश्मीरका जनताको आत्मनिर्णयका अधिकारमा अन्तर्राष्ट्रिय समुदायको भूमिकामा जोड दिनुभएको थियो ।

छलफलमा सहभागीहरूले कश्मीरको अधिकारका लागि अन्तर्राष्ट्रिय समुदायको महत्वबारे आ–आफ्ना विचार राखेका थिए ।