Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


माघ १२ देखि काठमाडौंमा छैटौं अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी हुँदै


0
Shares

काठमाडौं । कृषि सम्बन्धि वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शर्नी गर्न लागेको मिडिया स्पेस शोलुसन प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताउनुभयो । उहाँले छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने बताउनुभयो ।

प्रबन्ध निर्देशक भट्टराईले विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्रि डा.वेदुराम भुसालले गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

प्रबन्ध निर्देशक भट्टराईले यो भन्दा अगाडिका प्रदर्शनी भरतपुर चितवनमा गरेको भएपनि यस वर्ष कृषि क्षेत्रमा काम गर्ने सरकार लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहेको बताउनुभयो । उहाँले देशभरका किसानहरुलाई प्रदर्शनी भ्रमण गराउन सहज हुने भएकाले काठमाडौंमा आयोजना गरिएको बताउनुभयो ।

प्रबन्ध निर्देशक भट्टराईले ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनीको आयोजना गर्नु भनेको देशका विभिन्न क्षेत्रबाट आउने किसानहरु नविन प्रविधिको बारेमा जानकारी दिनु रहेको बताउनुभयो । उहाँले प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताउनुभयो ।

मेलामा देशभरबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुका बारेमा जानकारी दिने आयोजकले जनाएको छ । प्रदर्शनीमा करिव २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको र निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ ।