४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


तीजमा ‘दुई घन्टाभित्रै पशुपति दर्शन’को व्यवस्था (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज)

काठमाडौं, भदौ २६ । पशुपति क्षेत्र विकास कोषले हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा बुधबार सहजरुपमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ ।

लाइनमा बसेको दुई घन्टाभित्रै दर्शनार्थीले पूजा गर्नसक्ने कोषको भनाइ छ ।

तीजको दिन पशुपतिनाथ मन्दिरका चारओटै ढोका बिहान ३ बजेदेखि नै खुला गरी पूजा गर्ने व्यवस्था मिलाएको पशुपति क्षेत्र विकासले कोषले जनाएको छ  ।

सुरक्षा, आकस्मिक स्वास्थ्य सेवा, लाइनलगायतका सम्पूर्ण व्यवस्थाको तयारी सकिएको कोषको भनाइ छ ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले लाइन बसेको दुई घन्टामा नै पूजा गर्न सक्नेगरी व्यवस्था मिलाएको जानकारी दिए ।

मित्रपार्कबाट प्रवेश गर्ने भक्तजनहरु गौरीघाट, उमाकुन्ड, दक्षिणमूर्ति, रुद्रगाडेश्वर, वासुकी उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वरबाट फर्कनसक्ने छन् ।

जयवागेश्वरीबाट प्रवेश गर्नेहरु भुवनेश्वरी, शंकराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरेर पश्चिम मूलढोका हुँदै बाहिरिने व्यवस्था मिलाइएको छ ।

यस्तै, वनकालीबाट प्रवेश गर्नेहरु भने चारशिवालय पञ्चदेवलपूर्व बज्रघर दक्षिणढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट नै बाहिरिने व्यवस्था मिलाइएको छ ।

धार्मिककार्यका लागि भुवनेश्वरी मन्दिरअगाडि व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीको भीडका कारण ट्राफिक व्यवस्था गर्न समस्या हुने भएकाले कोषले तिलगंगा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला र पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङको व्यवस्था मिलाइएको छ ।

सुरक्षाका लागि बुधबार बिहान २ बजेदेखि नै तीन हजार सुरक्षाकर्मी परिचालन गर्ने डीएसपी सुनील मल्लले जानकारी दिए ।

अमूल्य गरगहना लगाएर र साना बालबालिकालाई लिएर नआउन कोषले आग्रहसमेत गरेको छ ।

भिडियो हेर्नुहोस्