२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


बौद्ध योगी लामा छिरिङ वाङ्दु रिन्पोछेको दाहसंस्कार गरियो


806
Shares

काठमाडौं । नेपालका प्रसिद्ध बौद्ध योगी लामा छिरिङ वाङ्दु रिन्पोछेको दाहसंस्कार गरिएको छ ।

अमेरिकाको कोलोराडो स्थित तारा मण्डला सेन्टरमा उहाँको बौद्ध परम्परा अनुसार अन्त्येष्टी गरिएको हो। तारा मण्डल अन्तराष्ट्रिय बौद्ध समुदायको आयोजनामा बज्राचार्य गोछेन साङाग रिन्पोछे, बौद्ध गुरु, लामा, भिक्षुहरु उपस्थितिमा दाहसंस्कार गरिएको हो ।

अन्त्येष्टी पछि प्राप्त बौद्ध योगी रिन्पोछेको अस्तिधातु राखेर चैत्य निमार्ण गर्ने सेन्टरले जनाएको छ । अमेरिकाको पोर्टल्याण्डस्थित आफ्नै निवासमा ८८ वर्षको उमेरमा करिब एक महिना अगाडि उहाँको निधन भएको थियो ।

हिमाली बौद्ध परम्परा अनुसार भौतिक रुपमा निधन भएपनि उहाँ कोठा भित्र ध्यानमुद्राको अवस्थामा रहेको विश्वास गरिन्छ । रिन्पोछे बौद्ध लोङचेन निङथिग, शिजे र चोड परम्पराका वंशजका उहाँ करिब ९ वर्षको उमेरमै हिमाली बौद्ध लामा भएर चोड अभ्यास गर्ने सिद्धहस्त हुनुहुन्छ । १८ देखि २० वर्षको उमेरमा उहाँले झण्डै १ सय चिहानमा तन्त्र र चोड साधना गरेर सिद्धी प्राप्त गर्नुभएको हो ।

तिब्बतमा किसान परिवारमा जन्मेका रिन्पोछेको सन् १९५८ मा बौद्ध तीर्थयात्राको क्रममा नेपाल आएर बस्नुभएको थियो । नेपाल, तिब्बत चीन, भारत, भुटान र पश्चिमी मुलुकमा उहाँ एक कुशल चोड चिकित्सक र साधकको रुपमा प्रसिद्ध हुनुहुन्छ । रिन्पोछे पाल गी लङ्कोर जङ्सेम कुङ्गा लिंग गुम्बा, बौद्ध, नेपालका प्रमुख गुरु समेत हुनुहुन्थ्यो । रिन्पोछेको शैली, योगिक परम्परामा, सरल र प्रत्यक्ष भएको कारण विश्वभर उहाँका अनुयायीहरु धेरै छन् ।