काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बुधबार बस्दैछ ।
बैठकमा पार्टीको सांगठनिक एकीकरण र आगामी स्थायी कमिटीको बैठकका एजेन्डा विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि, भदौ २४ गते केन्द्रीय सचिवालयको बैठक बस्ने तय भएपनि नेताहरुको कार्यव्यस्तता र तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।
बुधबार बस्ने सचिवालय बैठक मुख्यगरी सांगठनिक एकीकरणको एजेन्डामा केन्द्रित हुने भएको छ ।
केन्द्रीय सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठले पार्टीको सांगठनिक एकीकरण र आसन्न स्थायी कमिटी बैठकका एजेन्डा तय गर्ने विषयमा बैठक केन्द्रित हुने जानकारी दिए ।
यस्तै, बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चारदिने भारत भ्रमणबारे ‘ब्रिफिङ’ गर्ने र सरकारको काम–कारबाहीका विषयमा पनि समीक्षा हुने स्रोतको भनाइ छ ।
बैठकमा एकता कार्यदलले बुझाएको प्रतिवेदन र प्रतिवेदन बुझाउन बाँकी कार्यदलको गृहकार्यका विषयमा गम्भीर छलफल हुने जनाइएको छ ।
प्रदेश र जिल्ला कमिटी तथा जनसंगठन एकीकरणसम्बन्धी कार्यदलले तोकिएको समयमा प्रतिवेदन बुझाउन सकेका छैनन् ।
प्रतिवेदन बुझाएका कार्यदलले पनि विवाद सल्ट्याउन नसकेर सबै आकांक्षीहरुको नामसहितको प्रतिवेदन बुझाएका छन् । ती प्रतिवेदनमाथि पनि विवाद कायमै छ ।
कतिपय प्रदेश र जिल्ला कार्यदलले त अझै प्रतिवेदन बुझाउन सकेका छैनन् ।
तर, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले असोज पहिलो साता मोटामोटीरुपले तल्लो तहसम्मकै एकता टुंगिने जिकिर गरे ।
एकीकरण कार्यदलले सिफारिस गरेका प्रतिवेदनमाथि विवाद कायमै छ । यस्तै, तल्ला कमिटी र जनसंगठन एकीकरण कार्यदलले सिफारिस प्रतिवेदनलाई हुबहु पारित गरे पार्टीभित्र र जनवर्गीय संगठनभित्र थप विवाद चर्किने अवस्था छ ।
असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा धमाधम उजुरी गर्न थालेपछि विधि, प्रक्रिया र मापदन्डका आधारमा प्रदेश र जिल्ला पदाधिकारी चयन गर्न नेतृत्वमाथि तीव्र दबाब छ ।
एकीकरणमा भइरहेको ढिलाइसँगै असन्तुष्टि बढ्दै जाँदा यसअघि दुईपटक तोकिएको केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठक स्थगित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्