
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सचिव निरौलाले यस्तो बताउनुभएको हो । उहाँले दशैंको लागि चिनी उद्योग र विभिन्न उद्योगमा रहेका स्टक चिनी बजारमा पठाएर गर्जो टरे पनि भारतले चिनी निर्यात प्रतिवन्ध नखोलेसम्म समस्या समाधान गर्न अप्ठ्यारो रहेको बताउनुभयो ।
चिनी आयातान अहिले भन्सार महशुल ३० प्रतिशत, मूल्य अभिवृद्धिदर १३ प्रतिशत, कृषि शुल्क १.५ प्रतिशत रहेको छ । यसले घरेलु मूल्य भन्दा नेपालमा आउँदा चिनी महँगो हुने गरेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा चिनीको वार्षिक उत्पादन १ लाख ४० हजार देखि १ लाख ५० हजार मेट्रिक टनसम्म रहेको छ । चिनीको वार्षिक माग भने २ लाख ८० हजारदेखि ३ लाख मेट्रिक टनसम्म रहेको सचिव निरौलाले बताउनुभयो ।
उहाँले पछिल्लो समय नेपालमा चिनीको आयात पनि घट्दो क्रममा रहेकोमा चालु आर्थिक वर्षमा भारतले निर्यातमा प्रतिवन्ध लगाएसंगै थप प्रभावित भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्