Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अर्थतन्त्र संवेदनशील मोडमा छ, व्यवसायीहरुलाई दोष देखाएर सरकार उम्कन मिल्दैन : अध्यक्ष ढकाल


676
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र संवेदनशील मोडमा रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अर्थतन्त्रलाई लयमा ल्याउनको लागि समयमा सही नीति लिन नसक्दा अर्थतन्त्र संवेदनशिल मोडमा पुगेको बताउनु भयो । उहाँले सरकारले सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको भन्दै अर्थतन्त्र सुधारको लागि सानोतिनो परिवर्तन र टालटुले नीतिले तत्काल सुधार सम्भव नभएको बताउनु भयो ।

उहाँले बैंक वित्तिय संस्थाहरुसँग करीव ५ खर्ब रुपैया लगानी गर्नसक्ने रकम रहेको तर आपूर्ति अधिक हुँदा कर्जाको ब्याजदर घटेर उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहेको बताउनु भयो । उहाँले रेमिट्यान्स हालसम्मकै उच्च अर्थात महिनामै १ खर्ब १६ अर्ब रुपैयाँ भित्रिएको छ भने बजारमा माग बढ्न सकेको छैन तर औपचारिक रुपमा आयात उच्च हुने जस्ता विरोधाभाषपूर्ण तथ्यांकहरु अर्थतन्त्रमा देखिएको बताउनु भयो ।

उहाँले सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै गएर एकैपटक लगानी र बजारको माग घट्दा बजार मूल्य समेत निरन्तर बढेको बताउनु भयो । उहाँले अब नयाँ पुस्ताको आर्थिक सुधारको तत्काल घोषणा गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो । अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न नसक्ने भन्दै सरकारले तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरिय कानुनी हैसियत भएको संयन्त्र गठन गर्र्न जरुरी देखिएको उहाँको भनाई छ । वर्तमान अर्थतन्त्रमा देखिएका सबै पक्ष मिलेर काम गरे मात्रै समाधान सम्भाव भएको दाबी गर्नुभयो । उहाँले नेपालको निजी क्षेत्र दरिलो रहेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने पक्षमा सरकार सकारात्मक हुन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रमा ८० प्रतिशत योगदान गरेको नीजि क्षेत्रले दिएका सुझावहरु सरकारले कार्यान्वयन समेत गर्न नखोजेको आरोप लगाउनु भयो ।

उहाँले बैंक वित्तीय संस्थाको कर्जा तिर्न समस्या भएर बिस्तारै बैंकहरुको खराब कर्जा (एनपिए) बढदै गएको पनि उल्लेख गर्नुभयो ।