काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले कवाडीजन्य वस्तुमा कर लगाउन गरेको निर्णयको कवाडी व्यवसायीहरुले बिरोध गरेका छन् ।
महानगरपालिकाले गरेको निर्णयले साना व्यवसायी मारमा परेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेकाछन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको भन्दै उनीहरुले बिरोध गरेका हुन । महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि २ वर्षका लागि कवाडीजन्य वस्तुमा लाग्ने कर सम्बन्धी ठेक्का आह्वान गरेको थियो ।
२ वर्षका लागि २ करोड ६८ लाख ६९ हजार रूपैयाँको ठेक्का आह्वान गरिएको थियो । महानगरपालिकाको क्षेत्राधिकारभित्र उत्पादन हुने कवाडीजन्य वस्तुहरूमा कर लगाउन खोजिएको महानगरले जनाएको छ । कवाडी सामानमा प्रतिगोटा तथा प्रतिकेजी निश्चित कर लगाउने गरी ठेक्का आह्वान गरिएपछि व्यवसायीहरू बिरोधमा उत्रिएका हुन् । महानगरभित्र झण्डै १५ सय जना यो व्यवसायमा प्रत्यक्ष जोडिएका छन्।
घर–घर पुगेर साइकलमा कवाडी सामान संकलन गर्नेको संख्या चितवन जिल्लाभरमा करिब ४ हजार ५ सय रहेको बताइएको छ । चितवनका व्यवसायीहरूले काठमाडौं, धादिङ तथा गण्डकी प्रदेशका जिल्लाबाट पनि कवाडी सामान संकलन गर्छन् । महानगरपालिका राजस्व महाशाखा प्रमुख जगन्नाथ अर्यालले ऐनमा टेकेरै निकासी करका लागि ठेक्का लगाउन बोलपत्र आह्वान गरिएको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्