काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन् ? भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गर्नुभएको हो । उहाँले चाडपर्व नजिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको बताउनु भयो । उहाँले सरकारले दशैं पेस्कीको रुपमा जनतालाई महँगी दिएको भन्दै कवितामार्फत ब्याङ्ग्य गर्नुभयो ।
त्यस्तै,नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दशैँमा गाउँघरमा जाने विद्यार्थीहरुको लागि सरकारी र संस्थानका सवारीहरुको प्रयोग गर्ने गरी प्रवन्ध मिलाउन सरकारसँग माग गर्नुभयो ।उहाँले सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजनाको भुक्तानी गर्न आग्रह गर्नुभयो ।
उहाँले वर्षातको कारणले बिग्रिएका गाउँ–गाउँमा पुग्ने ग्रामिण क्षेत्रका सडकहरुलाई मर्मतको लागि संघीय सरकारले बजेटको प्रवन्ध मिलाएर प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्ने वातावरण मिलाउन माग पनि गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्