Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


राष्ट्रपतिलाई सांसद पौडेलको प्रश्न – जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिनेकुरामा हस्ताक्षर गर्दा हात कामेन ?


520
Shares

काठमाडौं । सांसद डा. विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिनेकुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले राष्ट्रपति मन्त्रीपरिषद्को औंठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताउनुभयो ।

सांसद पौडेलले मन्त्रिपरिषद्को औँठाछापका रुपमा राष्ट्रपति कार्यालय लिने भए राष्ट्रपति कार्यालय आवश्यक नभएको बताउनुभयो । उहाँले २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारालाई नेपाल सरकारले आम माफी दिनु गलत भएको दाबी गर्नुभयो ।

सांसद पौडेलले २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारालाई के आधारमा सरकारले आममाफी दियो भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभयो । उहाँले नियन्त्रणमा लिएर हत्या गर्नु जघन्य अपराध भएको भन्दै अपराध गर्ने हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषद्ले कुन आधारमा आममाफी दिन सिफारिस गर्‍यो संदनमा आएर गृहमन्त्रीले जवाफ दिन माग गर्नुभयो ।

सांसद पौडेलले हत्यारा छुट्नको लागि कुनै दलको नेता, गृहमन्त्रीको आफन्त वा राष्ट्रपतिको ज्वाईंचेल हुनुपर्ने हो ? भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले आममाफी लिने निर्णय गर्दा पीडितको अनुमति बेगर मान्छेलाई छाड्न नमिल्ने बताउनुभयो । सांसद पौडेलले कानून र संविधानले दिने भन्ने भए संसदमा कानून ल्याए संशोधन गर्न तयार रहेको बताउनुभयो । कानून र संविधानलाई टेकेर मनपरी गर्नको लागि गृह वा प्रधानमन्त्री कसैलाई पनि छुट नभएको बताउनुभयो ।

Skip This