२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री दाहाल


403
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास आफूले लिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।’

नेपालरचीन बीचको सदियौं पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै प्रधानमन्त्री दाहालले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि सरकारको एकल प्रयासमात्र सम्भव नहुने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढ्ने नीति लिएको बताउनुभयो ।

यस पटक आफूले संयुक्त राष्ट्रसङ्घीय महासभामा नयाँ तथा फरक मुद्दा उठाएको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया नयाँ र फरक प्रकृतिको रहेको र यससम्बन्धी सङ्क्रमणकालीन न्यायका कतिपय काम टुङ्ग्याउनुपर्ने कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाई भनेको बताउनुभयो ।

त्यसैगरी जलवायु परिवर्तनले नेपाललाई पुर्‍याएको असरका साथै अति कम विकसित राष्ट्रहरूका मुद्दा पनि आफूले एलडिसीको अध्यक्ष देशका हैसियतमा उठाएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण नेपाल–चीनसम्बन्धका विविध आयामहरूलाई थप प्रगाढ बनाउने कार्यमा केन्द्रित रहेको भन्दै आगामी दिनमा सहयोग र समझदारीका क्षेत्रहरू बढ्ने तथा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा आदि विषयमा सहयोग आदानप्रदान थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

यो पटक आर्थिक विकास र समृद्धितर्फ देशलाई अगाडि लैजाने बाचासहित आफू प्रधानमन्त्री भएको प्रसङ्ग उल्लेख गर्दै सोहीबमोजिम वर्तमान सरकारले काम अगाडि बढाएको र परिणाम पनि देखा परिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

यसअघि प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा नेपाल–चीन विजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानी गरी लाभ लिन चिनियाँ उद्योगीलाई आग्रह गर्नुभएको थियो ।