Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


जनताको अवस्थामा परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै अर्थ नहुने नेपालको भनाई


117
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताउनु भएको छ ।

समाजवादी पेशागत कानून व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनका लागि विचार मिल्नेहरुको समाजवादी मोर्चा बनाए पनि अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताउनुभयो ।

आफ्नो पार्टीको अस्तित्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृत्तिसँग एकताको गीत गाएर हिँड्नुको कुनै अर्थ नरहेको भन्दै उहाँले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने धारणा राख्नुभयो । उहाँले जनताको हक अधिकार संविधानको पानामा मात्रै लेखेर नहुने भन्दै त्यसमा रहेका विषयलाई कार्यान्वयन गर्नु मुख्य विषय भएको बताउनुभयो ।

अध्यक्ष नेपालले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफूहरुले विद्रोह गर्नुपरेको पनि बताउनुभयो । उहाँले गठबन्धन सरकारबाट बाहिरिने कुरा पार्टीलाई सिध्याउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्क्याएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशायी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पार्नुभयो ।