काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले ६५ प्रतिशत स्वरोजगार बनाउने यातायात उद्योगलाई सामाजिक सुरक्षा कोषमा बाइपास गरेर लागू गर्न नसक्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा आजको आवश्यकता विषय राष्ट्रिय गोष्ठीमा बोल्दै अध्यक्ष स्वाँरले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सामाजिक सुरक्षा कोषमा आवद्धताको लागि सबै भन्दा पहिला सम्झौता गर्ने नेपाल यातायात राष्ट्रिय महासंघ भए पनि राज्यले यातायात क्षेत्रलाई बाइपास गरेर सामाजिक सुरक्षा कोषलाई अगाडि बढाएको भन्दै गुनासो गर्नुभयो ।
अध्यक्ष स्वाँरले सरकारले ६५ प्रतिशत स्वरोजगार दिने यातायात उद्योगलाई बाहिर राखेर सामाजिक सुरक्षा कोष अगाडि बढ्ने परिकल्पना नगर्न आग्रह गर्नुभयो । उहाँले सामाजिक सुरक्षाको विषयमा सरकारले यातायात व्यवसायीलाई अनुभुति दिने काम समेत नगरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष स्वाँरले सरकारले यातायात क्षेत्रलाई बेवास्था गरेपनि सामाजिक सुरक्षा कोषमा मजदुरहरु समावेश गराउने कुरामा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले २०७४ सालमा व्यवस्थित रुपमा सञ्चालनमा रहेको यातायात क्षेत्र सिण्डिकेटको नाममा तहसनहस बनाएकाले अहिले सुधार हुने क्रममा रहेको बताउनुभयो । अध्यक्ष स्वाँरले यातायात समितिहरु प्रा.लि.मा गएकाले संगठित क्षेत्र जस्तो देखिएपनि यातायात क्षेत्र अनौपचारिक क्षेत्र नै रहेको बताउनुभयो । उहाँले सरकारले नेपाल उद्योग वाणिज्य महासंघ लयातका क्षेत्रसँग छलफल गर्ने तर यातायात क्षेत्रलाई बाइपास गर्ने काम गरेको बताउनुभयो ।
त्यस्तै, साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले साना तथा घरेलु उद्योगको क्षेत्रमा सामाजिक सुरक्षा कोष लागू गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले ८० प्रतिशत भन्दा बढी लघु घरेलु साना उद्योगीहरुले ओगटेको क्षेत्रलाई सरकारले प्रवद्र्धन र संर्वद्धन गर्न सरकारले नसकेको बताउनुभयो । उहाँले पछिल्लो समय सरकारले नीति तथा कार्यक्रम , बजेट र मौद्रिक नीतिमा यो क्षेत्रलाई लक्षित नीति ल्याएपनि लक्षित वर्गले सुविधा नपाएको गुनासो गर्नुभयो ।
उहाँले साना उद्यमीहरु सामाजिक सुरक्षा कोषमा प्रवेश गर्ने सहज वातावरण बनाउन माग गर्नुभयो । उहाँले सरकारले यातायात क्षेत्रलाई चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्