गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ
काठमाडौं । काठमाडौं उपत्यकामा बर्षामा आउने बाढीले घरबस्ती मात्र हैन, संग्रहालयमा परिणत नारायहिटी दरबार क्षेत्र पनि जोखिममा परेको छ । दरबार हाताबाट भूमिगत बगेको टुकुचा खोलामा अनियन्त्रित बाढी आउँदा दरबार क्षेत्र डुबानमा परेको हो । दरबारलाई बाढीबाट जोगाउन सरकारसँग कुनै ठोस योजना छैन ।
इतिहासको दर्दनाक कालखण्ड र राजनीतिक परिवर्तनको साक्षीका रुपमा रहेको नारायणहिटी दरबार यसपल्ट झरीपछि आएको बाढीले डुबानमा पर्यो । डुबानका कारण आगन्तुकलाई आकर्षित गर्न लगाइएका फूल, बनस्पति नष्ट भए । टुकुचा खोलामा आएको बाढी अनियन्त्रित हुँदा नेपाली सेनाले उपभोग गर्दै आएको ब्यारेक समेत प्रभावित हुनपुगेको नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक सुरेश सुरस श्रेष्ठले बताउनुभयो ।
दरबार हत्याकाण्डपछि संग्रहालयमा परिणत नारायणहिटीमा राजा महाराजाले प्रयोग गर्ने हरेक चिजबीचको संरक्षण गरिंदै आएको छ । ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार गणतन्त्र आएसँगै संग्रहालयमा परिणत गरिएको थियो । २०६५ सालदेखि आमनागरिकको अवलोकनका लागि खुला गरिएको संग्रहालयलाई थप रुचिकर बनाउन संग्रहालय प्रशासनले एकपछि अर्को ऐतिहासिक ठाउँ खुला गर्ने क्रमलाई तीब्रता दिएको छ । केही समयअघि रानी ऐश्वर्यको निजी बगैंचा, राजा वीरेन्द्र र दीपेन्द्रको निजी विमान र हेलिकप्टर अवलोकनमा राखेको संग्रहालय प्रशासनले अब छिट्टै राजारानीको भान्छाकोठा, रणोद्धीपको दरबार, पूजाकोठा, फारसखानालगायतका ठाउँ सरसफाई गरी आगन्तुकलाई देखाउने योजना बनाएको छ । यसबाहेक बेलायती रानी एलिजाबेथले उपहार स्वरुप दिएको गोल्डेन बग्गीका चित्ताकर्षक सामाग्री राख्ने कक्ष पनि निर्माण गरिएको छ । यथेष्ट बजेट नहुँदा काम अपेक्षित गतिमा अघि बढ्न सकेको नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
संग्रहालय अवलोकन गर्न आउनेहरुको बाक्लो उपस्थितिले अधिकारीहरु उत्साही बनेका छन् । दैनिक १५ सय बढी स्वदेशी विदेशीले दरबार अवलोकन गर्ने गरेका छन् । अधिकांशको चासो राजारानीको निवास रहेको श्री सदनमा रहने गरेको छ । त्यसबाहेक दरबार हत्याकाण्ड भएको ठाउँदेखि श्रीपेच हेर्ने उत्साहीको संख्या पनि उल्लेख्य छ । इतिहासको धरोहरका रुपमा रहेको यस ठाउँको गरिमा उच्च बनाउन त्यहाँ रहेका चीजवस्तुको संरक्षणसँगै प्राकृतिक प्रकोपले हुन सक्ने क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्