३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


विद्यार्थीसमक्ष प्रधानमन्त्रीले महानन्दको कविता सुनाएपछि…


0
Shares

प्रकाश सिलवाल (रासस)

काठमाडौं, भदौ २३ ।

‘विधिको यदी त्यही विधान छ भने 

अब त्यो विधिको पनि आयू पुग्यो ।’

कवि महानन्द सापकोटाले गरिबी र पछ्यौटेपनको प्रतिबिम्बन गरी निरंकुश राजतन्त्रात्मककालमा रचेको कवितालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुनाएपछि सहभागी विद्यार्थीले तालीको वर्षा दिन थाले ।

धनी र शिक्षित हुने सम्भावनालाई मारेर विगतका शासकले नेपालीलाई गरिबी र अशिक्षामा राखेको जिकिर गर्दै उनले भने–‘अब त्यो अन्धकारको युग समाप्त भएर समृद्धिको युगको थालनी भयो । विद्यार्थी उत्साहित भइ पढेर विश्वस्तरमा दक्ष नागरिक बन्न पछि पर्नुहुँदैन ।’

प्रधानमन्त्री ओलीले मुलुकलाई निरक्षर बनाइनु अपराध कर्म भएको उल्लेख गर्दै दुई वर्षपछि साक्षरता अभियानका नारा कार्यक्रम ल्याउन नपर्नेगरी साक्षर नेपाल बनाइने उद्घोष गरे ।

गत वैशाख १ गते कर्णालीको राराबाट देशवासीका नाममा सम्बोधनकाक्रममा पनि प्रधानमन्त्री ओलीले उक्त कविताको स्मरण गरेका थिए ।

वि.सं. १९५३ मा जन्मिएर प्रगतिशील र राष्ट्रवादी साहित्य सिर्जना गरेका सापकोटाको वि.सं. २०३५ मा निधन भएको थियो ।

प्रधानमन्त्री ओलीले सापकोटा र यस्ता अग्रज स्रष्टाका अमर रचनालाई आफ्नो सम्बोधनमा उद्धृत गर्दै आएका छन् ।

३९औं राष्ट्रिय शिक्षा दिवस तथा ५२औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले सापकोटाको कवितामात्र सुनाएनन्, नेपाली विद्वान् भाष्कराचार्यले गणितको सिद्धान्त पत्ता लगाएको तथ्यबारे विद्यार्थी अनविज्ञ हुन नहुने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले समाजवादउन्मुख गुणस्तरीय शिक्षा लिएर दुनियाँको कुनैपनि भागमा पुगेर श्रेष्ठता हासिल गर्नसक्ने नागरिक तयार गर्ने सरकारको लक्ष्यमा सघाउन शिक्षासेवी, कर्मचारी, शिक्षक र विद्यार्थीमा आह्वान गर्दा पनि विद्यार्थीले समर्थनमा ताली बजाएका थिए ।

सभाहलमा खचिखचाउ सहभागी र विद्यार्थीमाझ उनले मुलुकमा भेद्भाव र कुरीति अन्त्य गरेर सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि योग्य र दक्ष जनशक्ति तयार हुनैपर्नेमा जोड दिए ।

‘समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’को आदर्श वाक्यका साथ शनिबार देशभर सो दिवस मनाइएको हो ।

नयाँ पुस्तालाई निराश नहुन आग्रह गर्दै उनले नेपाली गौरवपूर्ण इतिहास बोकेको र विद्वान पुर्खाको सन्तान भएको र अबको सम्भावना झन् प्रचुर रहेको धारणा व्यक्त गरे ।

एक छिमेकीसँगको वेष्टितको अवस्था अन्त्य

प्रधानमन्त्री ओलीले दुई दिनअघि छिमेकी चीनसँग पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल एक छिमेकीसँगको वेष्टित (लक्ड)को अवस्थाबाट खुला भएको बताए ।

उनले आफ्नो अघिल्लो कार्यकालको चीन भ्रमणमा भएको सहमतिको कार्यान्वयनकाक्रममा उक्त मुलुकसँग भएको पारवहनको प्रोटोकलमा सहमति हुनु ऐतिहासिक उपलब्धि भएको बताए ।

प्रधानमन्त्री ओलीले भने–‘विरोधीले यो उपलब्धिलाई ओझेल पार्नेगरी सरकारको आलोचना गर्न खोजे पनि त्यस्ता आलोचनाले स्थान पाउने छैनन् । हामी मुलुकको समृद्धिको सपना पूरा गरेरै छाड्छौं ।’

आगामी साता नेपालको नदीमा जहाज चलाउने विषयमा नेपाल र भारतको संयुक्त टोलीले सर्भेक्षण सुरु गर्ने जानकारी दिँदै उनले अर्काे वर्षदेखि नेपालको जमिन डुबानमा नपर्नेगरी आउँदो वर्षायामअघि व्यवस्थान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो कुरा भइसकेको पनि स्पस्ट पारे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय र प्रदेशस्तरमा उत्कृष्ट घोषित सामुदायिक तथा संस्थागत विद्यालयलाई पुरस्कृत गरे ।