काठमाडौं, भदौ २३ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।
नयाँदिल्लीको लोककल्याणमार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका सम्भावनाबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
नेपालमा जलविद्युत्को विकास, हुलाकीमार्ग, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमासमेत उनीहरुबीच छलफल भएको थियो ।
धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठको एक बृहत्तर ‘सर्किट’ बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरकारुपमा विश्वभरि लैजान सहकार्य गर्नेबारेमा पनि छलफल भएको थियो ।
सो अवसरमा उनीहरुबीच नेपाल–भारत सीमामा बेलाबखतमा देखिने समस्याको समाधान र सीमा क्षेत्रका भन्सारको स्तरोन्नतिको विषयमा पनि विचार–विमर्श भएको थियो ।
दुई देशको आपसी हितलाई कसरी थप सुदृढ गर्ने भन्ने विषयमा छलफल गर्दै उनीहरुले पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारी र सहमतिलाई प्रभावकारीरुपले कार्यान्वयन गर्नेबारेमा गम्भीर छलफल भएको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीकारुपमा भारतको भ्रमण गर्दा भारतले गर्ने भनिएको सहयोगलाई मूर्तरुप दिने सम्बन्धमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्रीकारुपमा अध्यक्ष दाहालको भ्रमणकाक्रममा कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
करिब एक घन्टा भएको भेटवार्तामा उनीहरुले दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाइमा उठाउने प्रतिबद्धता र संकल्प गरेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्