३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौं : अर्थमन्त्री महत


273
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भएपनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीहरुले गरिरहेको बताउनुभयो ।

अर्थमन्त्री महतले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हाम्रो गलत प्रवृति,अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने बताउनुभयो ।

अर्थमन्त्री महतले नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृति बढेको बताउनुभयो । उहाँले नेपालीहरुले अहिले आत्मसाथ गरेको खानपान, जीवनशैलीलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्थमन्त्री महतले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताउनुभयो ।

अर्थमन्त्री महतले नेपाली रैथानेबाली भित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताउनुभयो । उहाँले विदेशी नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई मात्रै ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय विदेशी मुलुकका मानिसहरुले पूर्वीय कला संस्कृत सिक्न थालेको बताउनुभयो । उहाँले नेपालले नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुने बताउनुभयो ।