५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


सुन तस्करीका लागि हङकङमा कार्यालय !


21.528k
Shares

काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ।

विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो।

सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। उनीहरूले चिनियाँ एजेन्टमार्फत हङकङबाट सुन नेपाल पठाउने गरेका छन्। उनीहरूले नेपाल र भारतमा बसेर हङकङका कार्यालयमा रहेका चिनियाँ एजेन्टहरूसँग सेटिङ मिलाउने गरेको स्रोतको दाबी छ।

पछिल्लोपटक राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुन बरामद गरेपछि सुन तस्करीमा अनेकन् प्रश्न उठिरहेका बेला नेपाली र भारतीय व्यापारीको मिलेमतोमा हङकङमा कार्यालय खोलेर नेपालको बाटोबाट भारततर्फ सुन तस्करी गर्न सहयोगी भूमिका खेलिरहेको खुल्न आएको स्रोतले जनाएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।