Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गुणस्तरहीन सेनिटरी प्याड वितरण नगर्न पत्राचार

सरकारको बजेट १ अर्ब ४२ करोड

351
Shares

काडमाडौं । सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौं महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिरहेको छ ।

विगतका वर्षमा गुणस्तरहीन सेनिटरी प्याड वितरण भइरहेको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न आग्रह गर्दै पत्राचार गरिएको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी भएको सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिअनुसार खरिद गर्न निर्देशन दिएका हौं ।’ सुरूमा पत्र पठाएर सचेत गराइएको जिकिर गर्दै उहाँले अब अनुगमन गरी गलत ठहरिए कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

सरकारले जारी गरेको कार्यविधिमा सेनिटरी प्याडमा प्रयोग हुने कपडा सुती वा मलमलको हुनुपर्ने, कपडाको लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्ने, प्याडको गुणस्तरीयताको लागि ९५ प्रतिशत सुती हुनुपर्ने, कपडा अड्काउन प्रयोग हुने खोलमा प्रयोग हुने कपडा कम रङ, कम डाई प्रयोग भएको र सोसिने किसिमकोे हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, खोलको बनावट पीँधबाट नचुहिने गरी तयार गर्नुपर्ने र खोलमा प्रयोग हुने टाँक वा अन्य सामग्री र बनावट प्रयोगकर्तालाई सहज हुने किसिमको हुनुपर्ने उल्लेख छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।