काठमाडौं । रुकुम पूर्वमा निर्माण हुने ४४ दशमलव ५२ मेगावाट जडित क्षमताको सानी भेरी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ ।
आयोजना प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच बुधबार पीपीएमा हस्ताक्षर भएको हो ।
आयोजनाले उत्पादन गरेको विद्युत हिउँदयाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरीद गर्ने गरी पीपीए भएको हो । आयोजनाका तर्फबाट एक्सपर्ट समूहका अध्यक्ष जयराम अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
आयोजनाको विद्युतगृहदेखि प्राधिकरणको बाफिकोट सवस्टेशनसम्म १३२ केभी क्षमताको २० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने छ । यस्तै १० किलोमिटर पहुँचमार्गको पनि स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ ।
यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको आयोजनाले जनाएको छ । आयोजनाले २०८४ पुसभित्र विद्युत उत्पादन गर्नुपर्ने समझदारीमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्